मन्त्रिमण्डल पुर्नगठनबारे मलाई त थाहा छैनः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुर्नगठनबारे अनभिज्ञता प्रकट गरेका छन् ।

सोमबार नेकपा सचिवालय बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुर्नगठन र मुख्यमन्त्री फेरबदल गर्ने विषय पार्टीको कार्यसूचीमा नभएको स्पष्ट पारेका छन् ।

‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्र अन्य विषयमा छलफल हुन्छ । पहिला वैचारिक र नीतिगत सहमति भएपछि मात्र त्यस मातहत निष्कर्ष निकालिने हुन् । हाम्रो पार्टीमा मन्त्रिमण्डल पुर्नगठन र मुख्यमन्त्री फेरबदल गर्ने विषयहरु अहिले छलफलमा छैनन् ।’

त्यस्तै उनले कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने बताए ।

‘प्रधानमन्त्रीले भन्नुभएजस्तै समयमै पहल कदमी भएको छ, काम अगाडि बढेको छ, त्यसप्रति सन्तोष मान्नुपर्ने हुन्छ, केही दिनभित्र निकास निस्कनेमा हामी विश्वस्त छौं,’ श्रेष्ठले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको विवाद समाधानका लागि मन्त्रिमण्डल पुर्नगठन गर्नै तयारी गरेका छन् । उनले असन्तुष्ट माधव नेपाल समूहका केही नेतालाई मन्त्री बनाउने विषयमा अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close