कोरोनाले कांग्रेस महाधिवेशन नसर्ने, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन तालिका फेरिँदै

काठमाडौं । कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता नवीकरण, वितरण र संघीय संरचनाअनुसार पार्टी संगठन संरचना समायोजनका काम प्रभावित बने पनि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नसर्ने भएको छ।

आइतबार बसेको पदाधिकारी बैठकले गत पुस ११ गते सार्वजनिक कार्यतालिकाअनुसार १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निष्कर्ष निकालेको हो।

तर तल्ला तहका अधिवेशनहरू भने प्रभावित हुनेछ। पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन यसअघि घोषित मिति फागुन ७ मै गर्ने र क्षेत्र, जिल्लालगायत अधिवेशनका मिति हेरफेर गर्ने निर्णयमा पदाधिकारी बैठक पुगेको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सेतोपाटीलाई जानकारी दिए।

पार्टी विधानअनुसार कांग्रेसले सबै जिल्ला, क्षेत्रीय समितिलगायतमा समायोजन सकेको छैन। गत चैतभित्रै सकिनु पर्ने समायोजनका काम पटकपटक म्याद थप गरे पनि करिब ३० जिल्लाले अझै सकेका छैनन्। स्थानीयस्तरमा पार्टी संरचनाअनुसार समायोजनका लागि कांग्रेसले निर्देशिका पनि जारी गरेको थियो।

आइतबार महाधिवेशन कार्यतालिका हेरफेर, कोरोना रोकथाम तथा नियन्त्रण, नागरिकता विधेयक, बाँकी रहेका जिल्लामा समायोजनका काम अगाडि बढाउनेलगायत विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशनबाहेक तल्ला तहका अधिवेशनका कार्यतालिका हेरफेर गर्न मंगलबार केन्द्रीय समिति बैठक डाक्ने निर्णय पनि गरेको खाँणले जानकारी दिए।

‘केन्द्रीय महाधिवेशन तोकिएको समयमा गर्ने र तल्ला तहका अधिवेशनबारे कार्यतालिका हेरफेर गर्नेबारे छलफल भयो,’ उनले भने, ‘थप छलफलपछि केन्द्रीय समितिबाट परिमार्जित कार्यतालिका अनुमोदन गर्छौं।’

कांग्रेसले कोरोना महामारीकै बीच भए पनि महाधिवेशन तयारी सुरू गर्न लागेको हो। सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल सकिएको र थप भएको एक वर्ष समयभित्रै महाधिवेशन सक्नुपर्ने बाध्यकारी अवस्थाका कारण महाधिवेशन तयारी गर्नु परेको हो।

आइतबारको पदाधिकारी बैठकमा सभापति देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले सम्भावित कार्यतालिका प्रस्तुत गरेका थिए। उक्त कार्यतालिकालाई मंगलबारको केन्द्रीय समितिले अनुमोदन गरेमा कांग्रेसका तल्ला तहका अधिवेशन पुसदेखि सुरू हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close