आज क्षुद्रग्रह पृथ्वी नजिकै आउँदैछ, के हामी सुरक्षित छौँ ?

विराटनगर । अहिले विश्व त्यसै पनि आक्रान्त छ- कोरोना भाइरस (कोभिड-१९) काे महामारीले। यसको नियन्त्रण तथा रोकथामका लागि यतिबेला विश्वका मुलुक संघर्ष गरिरहेका छन्। कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ त कतै लकडाउन। एकप्रकारले अहिले विश्व नै आतंकित छ।

यहीबीच अर्काे एउटा डरलाग्दो हल्लाले विश्वमा थप आतंक सिर्जना गरिरहेकाे छ। त्याे हाे-  बुधबार (अप्रिल २९)  १९९८ ओआर-२ नामक क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ!

यसबारे वास्तविक तथ्य सम्बन्धित संघ/सस्थाले जानकारी गराइरहेका भए पनि त्रसित बनाउने प्रकृतिका समाचार नै बढी सम्प्रेषण भइरहेकाले नेपालमा पनि यसको त्रास बढेको छ।

यसैकारण यस लेखमा त्यस विषयको वास्तविकताबारे चर्चा गर्न खोजिएको छ। जुन पढेपछि यहाँहरूले आफूलाई सुरक्षित महसुस गर्नुहुनेछ भन्ने विश्वास छ।

प्रायः मिडियाले यो क्षुद्रग्रह पृथ्वी नजिकै आउने समाचार प्रकाशन/प्रसारण गरिरहेका भए पनि कति नजिक आउने हो, पृथ्वीलाई खतरा छ/छैन, स्पष्ट पारेका छैनन्।

यसैकारण सत्यतथ्य जान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्दै नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अध्यक्ष तथा इन्टर नेपाल एस्ट्रोनोमिकल युनियनको राष्ट्रिय प्रचारप्रसार संयोजकका नाताले यो लेखमार्फत जनमानसमा व्याप्त भ्रम चिर्ने प्रयास गरेको हुँ।

आशा छ- प्रश्नोत्तर शैलीमा लेखिएको यो लेखले यहाँहरूको आतंक साम्य पार्नेछः

याे क्षुद्रग्रह कस्तो खालकाे हो?
सौर्यमण्डलमा मण्डल र वृहस्पति ग्रहबीचमा रहने आकाशीय पिण्डलाई क्षुद्रग्रह भनिन्छ। यस क्षेत्रमा थुप्रै क्षुद्रग्रह छन्। यी पिण्ड भनेका हाम्रो सौर्यमण्डल बन्दा रहेका रहलपहल हुन्। अचम्म लाग्यो? वास्तवमा क्षुद्रग्रह सौर्यमण्डलकै एउटा अवशेष हो।

सौर्यमण्डलका भित्री ग्रह- बुध, शुक्र, पृथ्वी र मंगल, अनि बाहिरी ग्रह- वृहस्पति, शनि, अरुण र वरुणबीचको लक्षणरेखाजस्तै हो- मंगल र वृहस्पतिबीच रहेका क्षुद्रग्रहको एक अद्वितीय बस्तीः एस्टेरोइड बेल्ट। यो आकाशीय पिण्डको अध्ययन/अनुसन्धानले हामीलाई सौर्यमण्डलको उत्पत्तिबारे थप जानकारी हासिल गर्न मद्दत गर्छ।

यसको बनावट तथा यसमा भएका पदार्थको अध्ययनले सौर्यमण्डलको उत्पत्तिबारे थप सूचना दिने हुनाले अहिले केही देशले अन्तरिक्ष यान नै पठाई अध्ययन गर्दै छन्। अमेरिकी राष्ट्रिय अन्तरिक्ष संस्था नासाको डाउन मिसन होस् वा ओसिरिस रेक्स मिसन अथवा जापानी राष्ट्रिय अन्तरिक्ष संस्था जक्साको हायाबुसा मिसन, सबैको उद्देश्य यस्ता क्षुद्रग्रहको वस्तुगत अध्ययन गरी सौर्यमण्डलबारे बुझाइलाई अझ गहन बनाउनु।

तर यो लेखको उद्देश्य त्यसतर्फभन्दा पनि यी क्षुद्रग्रहको अर्को पाटोबारे जानकारी गराउनु हो। यी क्षुद्रग्रह सौर्यमण्डलकै सदस्य भएपछि यिनले सूर्यलाई परिक्रमा गर्ने नै भए। यसरी सूर्यलाई परिक्रमा गर्दाबीचमा पृथ्वी परेकाले यसमा बसोबास गर्ने हामी मानवलाई त्यसबारे चासो लाग्नु स्वाभाविकै हो।

अप्रिल २९ अर्थात् बुधबार के हुँदै छ?
यस दिन नेपाली समय अनुसार दिउँसाे  ३:४१ बजे यो क्षुद्रग्रह पृथ्वीको नजिकै आउँदै छ। तर यो नजिकै भनेको हामीभन्दा झन्डै ६२ लाख ८२ हजार किलोमिटर टाढा हो। पृथ्वी र चन्द्रमाबीचको औसत दूरी करिब ३ लाख ८४ हजार किलोमिटर छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा झन्डै साढे १६ गुणा टाढा रहनेछ।

यो क्षुद्रग्रहबारे किन यतिविधि चासो त?
हालसम्म पत्ता लागेका ९ लाखभन्दा धेरै क्षुद्रग्रहलाई मुख्यतः मेनबेल्ट, ट्रोजन र नियर अर्थ एस्टेरोइड गरी ३ भागमा वर्गीकरण गरिएको छ। तीमध्ये नियर अर्थ एस्टेरोइड सबैभन्दा चासोको विषय बनिरहेको छ। कारण क्षुद्रग्रहमध्ये केही पृथ्वीमा ठोक्किन सक्छन्। तसर्थ यस्ता क्षुद्रग्रहको अध्ययन/अनुसन्धान अत्यावश्यक छ।

पृथ्वीको इतिहास हेर्दा यस्ता क्षुद्रग्रह ठोक्किएको र त्यसबाट ठूलो क्षति पुगेका घटना पनि छन्। त्यसैले मानिस हरेकपटक कुनै क्षुद्रग्रह पृथ्वीनजिक आउन लागेको खबरले त्रसित हुने गरेका हुन्- कतै पृथ्वीमा ठोक्किने पो हो कि!

माइनर प्लानेट सेन्टरका अनुसार हालसम्म पत्ता लगाइएका पृथ्वीनजिक रहेका यस्ता क्षुद्रग्रह अर्थात् नियर अर्थ एस्टेरोइड २२ हजारभन्दा बढी छन्। तीमध्ये पृथ्वीमा खतरा सिर्जना गर्न सक्ने सम्भावना भएका क्षुद्रग्रह करिब १९ सयवटा छन्। तीमध्ये पनि थप बुझ्न बाँकी खालका पनि छन्, जसको अध्ययन‍/अनुसन्धान तीव्र छ, त्यसैले त्रसित हुनुपर्ने अवस्था छैन।

अहिलेको छुद्रग्रहबाट पृथ्वीलाई खतरा छ?
यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिख पत्ता लागेको थियो र त्यसैले यसको नाम १९९८ ओआर-२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ५२७६८ हो। कुनै पनि क्षुद्रग्रहलाई खगोल वैज्ञानिकले राम्रोसँग बुझेपछि यस्ता नाम दिन्छन्। यो क्षुद्रग्रहको अस्थायी नाम १९९८ ओआर-२ हो भने स्थायी नाम ५२७६८ हो। तीन दशकभन्दा बढी समयदेखिको अध्ययनबाट प्राप्त जानकारीअनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले कोही त्रसित हुनुपर्दैन।

नेपालमा पनि यसबारे अध्ययन भइरहेको छ?
सन् २०१६ देखि नेपालमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सञ्चालन गरिरहेको छ। यस अभियानमा संलग्न विद्यार्थीले पत्ता लगाएको र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाइसकेको छ। क्षुद्रग्रह एसओएस (सानोठिमी) कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पत्ता लगाएको त्यस ग्रहको नाम हो- २०१९ एई १८। जसलाई विद्यार्थीले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

बुधबार पृथ्वीनजिक आउने छुद्रग्रह नेपाली आकासमा नांगो आँखाले देख्न सकिन्छ?
हालैको एक अध्ययनअनुसार यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटर छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटरसम्म अनुमान गरिएको थियो। तर रिएकोमा अरेसीबो वेदशालाले यही अप्रिल १८ लिएको रडार तस्बिरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटर आकारको रहेको पत्ता लागेको हो।

त्यसैले यो पृथ्वीनजिक आउँदा पृथ्वी–चन्द्रमाको दूरीभन्दा कम्तीमा १६ गुणा टाढा रहनेछ भने करिब २ किलोमिटर आकारको रहेकाले साथै यसको औसत अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकाले यसलाई नांगो आँखाले देख्न सकिँदैन। यो देखिन ठूलै खालको टेलिस्कोप चाहिन्छ। Nepalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close